अगुवा महेन्द्र कुमालको जीवन गवाही

अगुवा महेन्द्र कुमालको जीवन गवाही

मृत्युलाई खोज्दै जाँदा जीवनदाता सँगको मेरो भेट

हामी हरेकको जीवन आ–आफ्नै कथा र ब्यथाले भरिएको छ र पनि हरेक घटनाले हाम्रो जीवनमा समान प्रभाब पारेको हुँदैन । जीवन जिउँदै जाँदा घटेका केहि घटनाहरुले हाम्रो हृदयमा यस्तो स्थान ओगटेको हुँदो रहेछ कि जसलाई न त हामी बिर्सन नै सक्छौँ, न त त्यस घटनाको विषयमा चुप लागेर बस्न नै सक्छौँ । मेरो जीवनमा पनि यस्तै एउटा घटनाले महत्वपुर्ण स्थान बनाएको छ । त्यो घटना हो आज भन्दा १२ बर्ष अगाडीको, जुन बेला मैले पोखरामा उच्च शिक्षा हासिल गर्न भनि आफ्नो परिवार र जन्मथलो छोडेर हिडेको थिएँ ।

म कृषि पेशामा अटुट परिश्रम गरी आफ्नो दैनिक गुजारा गर्ने एक सामान्य परिवारमा जन्मेको ब्यक्ति हुँ । आफुले पढ्न नपाएर आफु ठगिएको महशुस गर्ने मेरो बाबा र आमा आफ्ना छोराछोरीले पनि त्यहि परिस्थितिको सामना गर्न नपरोस् भनेर हामीलाई असल शिक्षा र भबिष्य प्रदान गर्नको लागि उहाँहरु जस्तो सुकै कठिन परिश्रम गर्न पनि पछि हट्नु हुँदैनथ्यो । बाबा आमाको दुखलाई नजिकबाट नियालेको भएर होला म पनि उहाँहरुलाई निराश नबनाउने गरि मेहनत गरेर पढ्ने गर्दथेँ । जसको फलस्वरुप मैले राम्रो अंक ल्याएर एस.एल.सि. पनि उत्तीर्ण गरेँ ।

हिन्दु धर्म परम्परा र संस्कारको वरिपरि हुर्किँए पनि, सानै देखि धर्मकर्म प्रति मेरो त्यति लगाब भने चाहिँ थिएन । तर हरेक कुरा बुझेर गर्न चाहने स्वभाब भने चाहिँ ममा थियो । त्यसैले गर्दा होला, म एउटै कुरालाई धेरै गहिएिर सोच्ने र त्यहि कुरालाई धेरै दिनसम्म मनमा खेलाई रहने गर्दथेँ । यस्तै बिविध कुराहरु मनमा खेलाउने क्रममा एउटा प्रश्नले मेरोे मन पोल्न थाल्यो । त्यो प्रश्न थियो, मान्छे किन मर्छ ? यसै प्रश्नले केहि समयपछि धेरै प्रश्नहरु जन्माउन थाल्यो । जस्तैः मान्छे कहाँबाट आउँछ र मरे पछि कहाँ जान्छ ? सधैँ भरि बाँच्ने कुनै उपाय छ कि छैन ? एस.एल.सि सिध्याएर उच्च शिक्षा हासिल गरि उज्वल भबिष्यको परिकल्पना गर्ने समयमा यिनै प्रश्नहरुले मलाई निरुत्साहित बनाउन थाल्यो । बाबा आमाको दुःखलाई सम्झँदा केहि गर्नुपर्छ भनि आउने जोशहरु सेलाउन थाल्यो । जेहोस् गाउँमै जसो तसो प्लस टु पास गरी, दोमनको साथमा उच्च शिक्षा हाँसिल गर्न भनी म पोखरा तिर लागेँ । मनको कुनै कुनाबाट एउटा सानो आवाजले भन्छ, तैले मेहनत गरेर पढ्नुपर्छ । बाबा आमाको दुःखलाई कहिल्यै बिर्सनु हँुदैन । तर त्यहि मनको अर्को कुनाबाट चर्को स्वरले भन्छ, पढेर के हुन्छ ? जागिर खाएर के हुन्छ ? संसारमा भएका कुराहरु हाँसिल गर्न जीवन रित्याएर के हुन्छ ? एकदिन त मर्नै पर्छ । सबै कुरा छोडेर जानै पर्छ । यसरी मलाई यस्तो लाग्न थाल्यो कि संसारमा गरिएको हरेक परिश्रम ब्यर्थ छ । यस्ता प्र्रश्नहरु नआओस् पनि किन ? एक किसानको छोरो भएको कारणले खेती लगाएर खान नपाई मरेका किसानहरुको बिडम्बना मैले आफ्नै आँखाले देखेको थिएं । यसरी प्रश्नहरुको संगालो बोकेर मनमा खेलाउँदा खेलाउँदा म यो निष्कर्षमा पुगेँ कि चाहेर होस् या नचाहेर मान्छे जन्मनुको अन्तिम उद्देश्य मर्न कै लागि रहेछ ।

यसरी जीवनभरि दुःखै दुःख भोगेर मर्नुभन्दा त अहिल्यै नै किन नमर्ने भन्ने हेतुले, म पनि मृत्युको खोजीमा हिँड्न थालेँ । तर मर्ने भन्ने कुरा पनि कहाँ सजिलो हुँदो रहेछ र ? मर्नको लागि सबैभन्दा सजिलो उपाय खोज्दै जाने क्रममा म एउटा चर्च भएको ठाउँमा पुगेँ । जब मैले चर्च देखेँ मैले मेरो मामा र उहाँले धेरै बर्ष अगाडी भन्नुभएको कुरा सम्झिएँ । उहाँले भन्नुभएको थियो “भान्जा, मृत्यु पछाडि पनि जीवन छ र ख्रीष्ट येशुलाई बिश्वास गर्ने ब्यक्ति म¥यो भने पनि जीवित हुनेछ” । यहि कुरालाई बुझने प्रयत्न गरि म चर्च भित्र प्रबेश गरेँ । र मैले मेरो मनमा गुम्सिएको प्रश्नको उत्तर भेट्टाएँ । त्यो उत्तर अरु कहिँ नभएर मैले युहन्ना ११ः२५–२६ मा भेटेँ । त्यहाँ लेखिएको थियो “पुनरुत्थान र जीवन म नै हुँ । मलाई विश्वास गर्ने म¥यो भने पनि जीवित हुनेछ”। अनि जीउने र म माथि विश्वास गर्ने प्रत्येक कहिल्यै मर्नेछैन । के तिमी विश्वास गछ्र्याै ?” त्यसपछि मैले खुरन्धार बाईबल पढ्न शुरु गरेँ । यसरी मेरो मनमा धेरै बर्ष पहिले उब्जिएका प्रश्नहरुको उत्तरहरु एक पछि अर्को गरी पाउन थालेँ । यसको साथसाथै येशुको जीवन, मृत्यु, पुनरुत्थान र स्बर्गारोहणको बिषयमा पनि जान्ने मौका पाएँ ।

यसरी सन् २००८ मा सुसमाचार द्धारा परमेश्वरले मैले उहाँलाई चिन्न र बुझन सकूं भनि मेरो बन्द हृदयको आँखा खोलिदिनु भयो र मैले प्रभु येशूलाई मेरो जीवनको मुक्तिदाता भनि ग्रहण गर्ने मौका पाएँ र एक बर्ष पछि २००९ जनवरी २ मा त्रिएक परमेश्वरको नाउँमा बप्तिस्मा लिएँ । जब मैले बप्तिष्मा लिएँ तब मैले मेरो जीवनलाई प्रभुको सेवाको लागि अर्पण गरेँ । जुन दिन मैले मेरो प्रभुले मलाई मर्न देखि हात हातै थामेको मेलै अनुभब गरें तब मैले उहाँबाट पाएको यो बाँकी जीवन उहाँ कै सेवाको लागि समर्पण गर्ने निर्णय गरेँ र मैले भने अबदेखि मेरो जीवन मेरो रहेन किनकि तपाईले मलाई आफ्नै रगतको मुल्यले किनेर आफ्नो बनाउनुभएको छ त्यसैले अब देखि उप्रान्त तपाईको इच्छा नै मेरो इच्छा र तपाईको खुशी नै मेरो खुशी हुनेछ । यो कुरामा परमेश्वरले सम्मति जनाउनुभयो र उहाँको सेवाको लागि मलाई तयार गर्न बिभिन्न अबसरहरु प्रदान गरिदिनुभयो । यसरी अहिले मैले उहाँको बोलावट र बरदान अनुसार पाष्टरीय वास्ताको सेवा मण्डलीमा पु¥याउँदै आएको छु, र मृत्युले नलगेसम्म यहि नै मेरो जीवनको एक मात्र उद्देश्य हो । आमेन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *